“नेकपा (एस) इन्द्रसरोवर कमिटी एमालेमा फर्कियो”



काठमाडौं, साउन १७ — नेकपा (एकीकृत समाजवादी) का नेता–कार्यकर्ताहरू पुनः एमालेमा फर्किने क्रम तीव्र भएको छ। शनिबार नेकपा (एस) मकवानपुर इन्द्रसरोवर गाउँ कमिटीका अध्यक्षसहित सिङ्गो कमिटी र पेशागत क्षेत्रका नेताहरू एमालेमा प्रवेश गरेका छन्।

फर्किनेमा पेशागत महासंघ बागमती प्रदेशका कार्यबाहक अध्यक्ष डा. लछी सिंह, इन्द्रसरोवर गाउँ कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरू जगत स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बालगायत रहेका छन्।

उनीहरूलाई एमाले मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई र संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले खादा र अवीर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा महासचिव पोखरेलले नेकपा (एस) विभाजनको औचित्य पुष्टि हुन नसकेको र नेताहरू आफैं पनि पछुतो गर्ने अवस्थामा पुगेकाले एमाले फर्कने निर्णय सही रहेको टिप्पणी गरे। उनले देशभर ‘फर्कनुहोस् अभियान’ चलाउने बेला आएको बताए।

प्रतिक्रिया दिनुहोस्