बागमती कांग्रेसको विवाद सुल्झिंदै, लामाको राजीनामापछि बानियाँको नेतृत्वमा सरकार
हेटौंडा, साउन १७— बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानको चरणमा पुगेको छ। मुख्यमन्त्री बहादुरसिंह लामा र संसदीय दलका नेता इन्द्र बानियाँबीच शक्ति बाँडफाँडको सहमति नजिकिएपछि राजनीतिक समिकरण मिल्न लागेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाको रोहबरमा मुख्यमन्त्री लामा र नेता बानियाँबीच सहमतिको प्रयास तीव्र भएको छ। सहमतिअनुसार बानियाँले मुख्यमन्त्री लामासँगको सल्लाहमा सरकार सञ्चालन गर्ने र मन्त्री तथा समितिमा दुवै पक्षको समान सहभागिता सुनिश्चित गरिनेछ। देउवाले लामापक्षका चार सांसदलाई मन्त्री बनाउने, संसदीय समितिका सभापतिहरू तथा अन्य राजनीतिक नियुक्तिमा आधा-आधा हिस्साको फारम्युला प्रस्ताव गरेका छन्।
मुख्यमन्त्री लामाले देउवासँगको भेटमा नियुक्त भइसकेका तीन मन्त्रीहरूको राजनीतिक भविष्य र आत्मसम्मानको विषयमा पार्टीको ध्यानाकर्षण गराएका थिए। देउवाले सो बिषयमा पार्टीस्तरमा समीक्षा गर्न सहमति जनाएका छन्।
दुई नेताबीच लिखित सहमति गराएर लामालाई राजीनामा गराउने तयारी देउवाले थालेका छन्। लामालाई बागमती सरकारको उच्चस्तरीय संयन्त्रको नेतृत्व दिने प्रस्तावसहित देउवाले दुबै नेताबीचको किचलो समाधानको प्रयास गरेका हुन्। यससँगै लामाले राजीनामाप्रति सकारात्मक संकेत दिएका छन्।
प्रदेश प्रमुख उपचारपछि हेटौंडा फर्किएलगत्तै लामाले पदत्याग गर्ने तयारी रहेको बताइएको छ। लामाले आफू निकटका नेताहरूसँग पद त्याग गर्दै पार्टी एकता र सहकार्यमा जुट्न तयार रहेको धारणा व्यक्त गरेका छन्।
प्रदेश सरकार गठनका बेला एमालेसँग आधा-आधा कार्यकाल नेतृत्व साटफेरको सहमति भएको र सोअनुसार अब आगामी चैत ८ गतेसम्म इन्द्र बानियाँले बागमती सरकारको नेतृत्व सम्हाल्ने सहमति रहेको स्रोतले जनाएको छ।
यस सहमतिपछि बागमती प्रदेशमा कांग्रेसभित्रको लामो समयदेखि देखिएको किचलो समाधान हुने विश्वास गरिएको छ।

