गत आर्थिक वर्षमा नेपालबाट सबैभन्दा धेरै भटमास तेल निर्यात, व्यापार घाटा १५ खर्ब नाघ्यो



काठमाडौँ, साउन १८ — गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले सबैभन्दा बढी भटमास तेल निर्यात गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार कूल निर्यातमा भटमास तेलको हिस्सा ३८.५ प्रतिशत रहँदै ११ हजार ७३२ प्रतिशतले वृद्धि भई रु १ खर्ब ६ अर्ब ७९ करोड पुगेको हो। सूर्यमुखी तेलको निर्यात पनि ७४३६ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ३३ करोड पुगेको छ।

धागो, गलैँचा, जुट तथा चिया निर्यातमा पनि वृद्धि देखिए तापनि आफ्नै उत्पादनको निर्यात भने घटेको केन्द्रले जनाएको छ। कुल निकासी व्यापारको ८१.१० प्रतिशत हिस्सा भारततर्फ नै केन्द्रित देखिएको छ।

त्यस्तै, कच्चा भटमास तेलको आयात ७११ प्रतिशतले बढेर रु १ खर्ब ८ अर्ब ९५ करोड पुगेको छ। पेट्रोलियम पदार्थको आयातमा भने ४.२९ प्रतिशत घटेर रु २ खर्ब ८७ अर्ब ६५ करोडमा सीमित भएको छ।

गत आर्थिक वर्षमा नेपालले कुल रु २ खर्ब ७७ अर्ब निकासी गर्दा रु १८ खर्ब ४ अर्ब बराबरको वस्तु आयात गरेको छ। निकासी र आयात दुवै बढ्दा व्यापार घाटा ६ प्रतिशतले बढेर रु १५ खर्ब २७ अर्ब पुगेको छ।

नेपालको प्रमुख व्यापार साझेदार देशहरूमा भारत, चीन, अमेरिका, युएई, ब्राजिल, फ्रान्स, क्यानडा लगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्