विदुरमा तीन किलोमिटर दौड कार्यक्रम सम्पन्न
नुवाकोट,साउन १८। नुवाकोटको विदुरमा शनिबार ‘स्वास्थ्यका लागि दौड, जीवनका लागि दौड’ भन्ने नारासहित तीन किलोमिटर दौड कार्यक्रम सम्पन्न भएको छ। नेपाल रनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको विशेष सहभागिता रहेको थियो।
दौड कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गर्नुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, उपमेयर प्रभा बोगटी, वडा नं १ का अध्यक्ष लेलिन रञ्जित, वडा नं २ का अध्यक्ष दिपक कायस्थलगायतको उपस्थिति थियो।
त्रिशूली बजारदेखि बट्टारसम्म आयोजना गरिएको दौडमा १३७ जना धावकले सहभागिता जनाएका नेपाल रनका सदस्य सुमन प्रधानले जानकारी दिनुभयो। सो अवसरमा ९७ वर्षीय स्थानीय गोपालदास जोशीले सबै धावकलाई सगुन खुवाए।
कार्यक्रम विदुर नगरपालिकाको आर्थिक सहयोग र जिल्ला एथलेटिक्स संघ नुवाकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। स्थानीय संघसंस्थाहरूको समेत प्रत्यक्ष-अप्रत्यक्ष सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा मेयर श्रेष्ठले खेलकुदले मानिसलाई शारीरिक रुपमा स्वस्थ राख्नुका साथै सकारात्मक ऊर्जा दिने भएकाले सबैको जीवनमा खेल अपरिहार्य रहेको बताउनुभयो। दौड त्रिशूली बजार हुँदै डुंगे, विदुर, मैथली व्यारेक, संगमचोक, बट्टार बसपार्क हुँदै बट्टारको पूरानो पार्टीमा पुगेर समापन गरिएको थियो।

