भिरबाट लडेर महिला नेत्रीको मृत्यु
जाजरकोट,साउन १८ । जाजरकोटमा घाँस काट्न गएको बेला भिरबाट लडेर महिला नेत्रीको मृत्यु भएको छ । नलगाड नगरपालिका १० रावतगाउँमा शनिबार घाँस काटेर फर्कने क्रममा भिरबाट लडेर कल्पना सलामी मगरको मृत्यु भएको छ ।
मृतक मगर पूर्व जनमुक्ति सेना तथा हाल नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी नलगाड नगर समितिको अध्यक्ष रहेको जनाइएको छ ।
मृतक सलामी घरमा पालेको भैंसीलाई घाँस काट्न गएको बेला फर्कने क्रममा अप्ठ्यारो भिरबाट लडेर मृत्यु भएको वडा नं १० का वडा अध्यक्ष अनिता रोकाले जानकारी दिए।
यसरी जाजरकोटमा गाई भैंसीका लागि घाँस काट्न जाँदा रुख भिरबाट लडेर वर्षमा एक सय जनाभन्दा बढिको मृत्यु हुने गरेको प्रहरीको तथ्याङ्कमा छ ।

