वीर अस्पतालको आकस्मिक कक्षमा शौचालयछेउ बिरामी, व्यवस्थापनमा लापरबाही



काठमाडौँ, साउन १८ — वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीलाई शौचालय र फोहोर डब्बाछेउ राखिने अवस्था कायमै रहेको छ। भौतिक संरचना र जनशक्ति अभावका कारण उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। अस्पताल प्रशासनले आकस्मिक कक्ष विस्तारको काम ठेक्कामा दिइसकेको बताउँदै केही महिनाभित्र समस्या समाधान हुने दाबी गरेको छ।

वीर अस्पतालका उपनिर्देशक डा. समाज गौतमले फोहोर र शौचालय नजिक बिरामी राख्न नमिल्ने स्वीकार गर्दै आकस्मिक कक्षलाई विस्तार गरी व्यवस्थित बनाउने योजना रहेको बताए। स्वास्थ्य मन्त्रालयले पनि न्यूनतम सेवा मापदण्ड पालना गर्नुपर्नेमा जोड दिँदै ७० वटा शय्या थप्न बजेट विनियोजन भइसकेको जानकारी दिएको छ।

हाल आकस्मिक कक्षको भीड व्यवस्थापन गर्न अस्पतालले शय्या थपेर भए पनि सेवा दिने प्रयास गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनशक्ति र पूर्वाधार विस्तार नहुँदा समस्या बढेको भए पनि मापदण्डअनुसार सेवा दिनुपर्ने स्पष्ट पारे। आकस्मिक कक्ष विस्तार गरी ५-७ महिनाभित्र समस्या समाधान गर्ने तयारीमा अस्पताल प्रशासन रहेको छ।

प्रतिक्रिया दिनुहोस्