सङ्घीय निजामती सेवा विधेयक प्रतिवेदन त्रुटिमा नियतवश चलाखीपूर्ण काम : छानबिन समिति निष्कर्ष
काठमाडौँ, साउन १८ — सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटिमा मानवीय भूल नभई नियतवश र चलाखीपूर्ण ढंगले गरिएको गम्भीर त्रुटि भएको विशेष छानबिन समितिले निष्कर्ष निकालेको छ। समितिले कार्यादेशका चारमध्ये दुई बुँदामा प्रतिवेदन लेखन सकाएर शनिबारदेखि जिम्मेवार पदाधिकारीको भूमिका निर्धारणमा छलफल थालेको छ।
प्रतिवेदन लेखनमा उपसमितिबाटै ‘कुलिङ अफ पिरियड’ समेटिएको दफामा छलफल नगरी स्किप गरिएको पाइएको छ। समितिले प्रतिवेदनमा गरिएका फेरबदल नियतवश भएको स्वीकारे पनि सहमतिका लागि ‘गम्भीर त्रुटि’ शब्द प्रयोग गरेको छ। समितिले साउन १९ गतेसम्म प्रतिवेदन सभामा पेस गर्ने तयारी गरेको छ।
सभापति र सचिव प्रतिवेदन त्रुटिमा मुख्य जिम्मेवार ठहर हुने धारणा समिति सदस्यहरूको रहेको छ। कारबाहीको प्रकृति र जिम्मेवारी तोक्न भने समितिले अझै निष्कर्ष निकालेको छैन।

