बहुविवाह छुट दिने कानुन बनाइँदै भन्ने भ्रममात्र हो : मन्त्री चौरसिया



काठमाडौँ, साउन १८ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र भएको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल महिला संघसँगको भेटमा मन्त्री चौरसियाले यस्तो भ्रम फैलिएको भन्दै बहुविवाहलाई वैधता दिने कुनै कानुन बन्ने प्रक्रिया नरहेको बताए।

नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले बहुविवाहलाई वैधता दिने प्रयास भए तत्काल रोक्न माग गरेकी थिइन । संघले जारी गरेको विज्ञप्तिमा बहुविवाह प्रथाले महिलामाथि अन्याय, उत्पीडन र समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै यस्तो प्रतिगामी कानुन नल्याउन सरकारसँग आग्रह गरिएको छ।

सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७२ संशोधनको तयारी गरिरहेको सन्दर्भमा यो विवाद उठेको हो। प्रस्तावित मस्यौदामा वैवाहिक सम्बन्ध कायम रहँदा अन्य महिलासँगको सम्बन्धबाट जन्मिएको शिशुको आधारमा दोस्रो विवाह गर्न सकिने प्रावधान राखिएको छ। संघले यस्तो व्यवस्था महिला आन्दोलनको उपलब्धि मेटाउने खतरा भएको भन्दै विरोध जनाएको छ।

प्रतिक्रिया दिनुहोस्