सिंहदरबारमा कोदोका परिकार प्रस्तुत हुने
काठमाडौँ, साउन १८ — नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भोलि (सोमबार) कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ।
‘भोजनलिपि स्वाद’ अभियानअन्तर्गत आयोजना हुने यो कार्यक्रम राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारको उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइएको हो।
अभियानका संयोजक देवीप्रसाद सापकोटाले सरकारले भदौ १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउन थालेको सन्दर्भमा परिकार प्रस्तुतिको कार्यक्रम आयोजना गर्न लागिएको बताए।
कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी, अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काले कोदोका विविध परिकार प्रदर्शन गर्ने छन्।
सेफ केसीले कोदोको उत्पादन र परिकारको व्यवसायिकीकरणमा कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । भोजनलिपि स्वाद अभियानलाई सयौँ संस्करणसम्म पुर्याउने लक्ष्य रहेको समेत जानकारी दिइएको छ।

