नुवाकोट तारकेश्वर-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन
नुवाकोट, साउन १९ — नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमबार बिहान निधन भएको छ।
काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षको उमेरमा रिमालको निधन भएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो। लामो समयदेखि मृगौला रोगबाट पीडित रिमाललाई चिकित्सकले विश्रामको सल्लाह दिएका थिए, तर उनी वडा कार्यालयको काममा सक्रिय थिए।
नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य समेत रहेका रिमालको अन्त्येष्टि केहीबेरमा तारकेश्वरको बुनेबेशीघाटमा गरिने एमाले नुवाकोटले जनाएको छ। रिमाल २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै तारकेश्वर गाउँपालिकाले सोमबार पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। अध्यक्ष शिव अधिकारीले एक शोक वक्तव्य जारी गर्दै रिमालको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

