नुवाकोटको पञ्चकन्यामा बस पल्टिँयो
नुवाकोट, साउन १९ — नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय गेट अगाडि बा २ ख ७०६९ नम्बरको यात्रुबस सडकबाट पल्टिएको छ। सोमबार दिउँसो सवारी अनियन्त्रित भई बस दुर्घटनामा परेको हो।
काठमाडौबाट घलेभञ्ज्याङतर्फ जाँदै गरेको बस दुर्घटनाका बेला चालक र सहचालक मात्र सवार थिए। दुवै जना सकुशल रहेको इलाका प्रहरी कार्यालय पञ्चकन्याले जनाएको छ।
बसमा यात्रु नहुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

