वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध
स्याङ्जा,साउन १९ । अविरल वर्षाले स्याङ्जा–पर्वत सडक खण्ड अवरुद्ध भएको छ । वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएको हो ।
वालिङ नगरपालिका–१४, डुम्रे भन्ज्याङमा पहिरो जाँदा सोमबार बिहानबाट सडक अवरुद्ध हुन पुगेको वालिङ–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिए ।
पहिरो खस्ने क्रम जारी नै रहे पनि डोजर प्रयोग गरेर सडक सुचारु गर्ने काम भइरहेको उहाँको भनाइ छ । सडक अवरुद्ध हुँदा दुई जिल्ला ओहोरदोहोर गर्ने यात्रुहरू बाटोमा नै अलपत्र परेका छन् ।
यसैबिच आइतबार बिहानबाट परेको निरन्तरको वर्षाले अधिकांश ग्रामीण सडक अस्तव्यस्त बनेका छन् ।

