कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, साउन १९ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।
नतिजा प्रकाशित गर्नुअघि आइतबार बोर्डले डेमो प्रदर्शन गरेको थियो। बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा आउनुपर्ने भए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो। गत चैत २० गतेदेखि सुरु भएको आन्दोलनका कारण परीक्षा समेत प्रभावित भएको थियो।
निर्धारित मितिभन्दा ढिलो गरी वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। नतिजा बोर्डको वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिने छ।

