नुवाकोटका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु, प्रतिस्पर्धालाई प्राथमिकता
नुवाकोट, साउन १९ — नुवाकोटका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहलाई पत्र पठाउँदै प्रधानाध्यापक नियुक्तिका लागि कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको हो।
शिक्षा नियमावली २०५९ को परिच्छेद १७ र नियम ९३ अनुसार प्रधानाध्यापक नभएका र कार्यकाल समाप्त भएका विद्यालयमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न इकाइले परिपत्र जारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साउन ७ मा देशभरका समन्वय इकाइलाई निर्देशन दिएपछि प्रक्रिया अघि बढाइएको हो।
हाल नुवाकोटका अधिकांश विद्यालयमा प्रतिस्पर्धा नगरी व्यवस्थापन समितिको निर्णयअनुसार शिक्षकहरूलाई प्रधानाध्यापकमा नियुक्त गर्ने गरिएको छ। पाँच वर्षे करार अवधि सकिए पनि निरन्तरता दिइँदै आएको गुनासो बढेपछि कानुनी प्रक्रिया अनुसार नियुक्ति अघि बढाउन पहल थालिएको छ।
बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले शिक्षा इकाइको परिपत्रपछि नयाँ कार्यविधि बनाएर प्रक्रिया सुरु गरिने बताए। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्दै आएको र अब पनि सोही प्रक्रियामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटानीले पाँच वर्षे करारपछि पुनः नियुक्ति पाउन प्रतिस्पर्धा अनिवार्य हुने स्पष्ट पारे। उनले अवैध रूपमा नियुक्त भएका प्रधानाध्यापकहरूलाई हटाउन सकिने चेतावनीसमेत दिएका छन्।
नुवाकोट जिल्लामा ४३९ सामुदायिक विद्यालय रहेका छन्।


