लिखुमा शहीद चञ्चला आले मगरको २३ औं स्मृतिमा सरसफाइ तथा श्रद्धाञ्जली कार्यक्रम
नुवाकोट, साउन १९ — शहीद चञ्चला आले मगरको २३ औं स्मृति दिवसको अवसरमा लिखु गाउँपालिका वडा नं ५ स्थित शहीद पार्कमा सोमबार सरसफाइ तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
साविक सूर्यमती गाविस–१ हालको लिखु गाउँपालिका वडा नं ३ स्थायी ठेगाना भएकी चञ्चला आले मगरले सशस्त्र द्वन्द्वकालमा २०५९ साल साउन १९ गते नुवाकोटको भद्रुटारमा वीरगती प्राप्त गरेकी थिइन्। चञ्चलाका पिता वीरबहादुर आले मगर पनि सशस्त्र द्वन्द्वमा शहीद भएका थिए।
२०४१ साल भदौ २० गते जन्मिएकी चञ्चला आले मगरको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा शहीदको योगदानको सम्झना गर्दै सहभागीहरूले पार्क सरसफाइ गरेका थिए। कार्यक्रममा चञ्चला आले मगरप्रति श्रद्धासुमन अर्पण गरिएको थियो।

