दुप्चेश्वर धाममा अपांगता भएका र ज्येष्ठ नागरिकका लागि वैकल्पिक मार्गको व्यवस्था
नुवाकोट, साउन २० — दुप्चेश्वर महादेव धाममा दर्शन गर्न आउने अपांगता भएका श्रद्धालु तथा ज्येष्ठ नागरिकहरूका लागि सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न विशेष वैकल्पिक मार्गको व्यवस्था गरिएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै भक्तजनहरूलाई वैकल्पिक मार्ग प्रयोगका लागि धाम प्रवेशद्वार नजिकै रहेको भजन मण्डली कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
महादेवको दर्शनमा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त वैकल्पिक मार्ग सञ्चालन गरिएको हो। “जो जहाँबाट आए पनि दर्शनमा कुनै बाधा नहोस् भन्ने हाम्रो पवित्र प्रयास हो,” दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए।
अपांगता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा विशेष सहयोग आवश्यक परेका भक्तजनले भजन मण्डलीसँग समन्वय गरी वैकल्पिक मार्गबाट सहज रुपमा दर्शन गर्न सक्नेछन्।
दुप्चेश्वर क्षेत्र विकास कोषले सबै भक्तजनको यात्रा सहज, सुरक्षित र सफल होस् भन्ने कामना गरेको छ। कार्यालयको नम्बर ९७६७६५५६१६ रहेको छ ।

