रसुवाको दुर्गम क्षेत्रका तामाङ बस्तिहरुमा स्तनपान सप्ताह मनाईयो
रसुवा,साउन २० । हिमाली जिल्ला रसुवाका दुर्गम बस्तिहरुमा आमाहरुलाई स्तनपानको महत्व बुझाउन स्वास्थ्य संस्थाहरुले विश्व स्तनपान सप्ताह मनाईएका छन । जिल्लाको आमाछोदिङ्मो गाँउपालिका एक हाकुको तामाङ बस्तिहरुमा नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदान प्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइएको हो ।
तामाङ समुदायमा आफ्नो परम्परा कायम राख्दै नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपानको महत्वपूर्ण भुमिका हुने बताउन ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने नारा सहित विश्व स्तनपान सप्ताह मनाईएको हाकु स्वास्थ्य चौकीका प्रमुख कमल बिष्ठले बताए ।
दुर्गम गाँउबस्तिहरुमा जन्मने नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण हुनेहुँदा आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने आमाछोदिङ््मो गाँउपालिकाका उपप्रमुख चण्डिका तामाङले बताए ।
यसैगरि स्तनपानकै कारण आमा र बच्चाविच गहिरो माया बढ्ने तथा स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाउनु पर्ने स्वास्थ्य बिज्ञहरुले बताएका छन ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गरेको छ ।

