इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं, साउन २० । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) बमोजिम बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थन सहित सोमबार प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेको थियो। बानियाँको शपथ ग्रहण आजै साँझ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कसरी चुलिँदै गयो बानियाँको नेतृत्व यात्रा ?
मकवानपुरको हर्नामाडी–४ दियावतीमा २०२७ साल भदौ १५ गते जन्मनुभएका बानियाँ २०४४ सालदेखि नेपाली राजनीतिमा सक्रिय हुन। विद्यार्थी राजनीतिबाट यात्रा थालेका उनी नेपाल विद्यार्थी संघ मकवानपुर सहसचिव, नेपाल तरुण दल मकवानपुर सचिव र अध्यक्ष हुँदै कांग्रेसको महासमिति सदस्य बने।
२०५८ सालमा जिल्ला सदस्य र २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित बानियाँले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाले।
२०७४ मा मकवानपुर क्षेत्र नं. १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई बागमती प्रदेश संसदीय दलको नेता चयन भएको बानियाँ २०७८ सालदेखि कांग्रेस बागमती प्रदेश सभापति रह्र्का छन् । २०७९ सालमा पुनः प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँ २०८२ साउन १४ गते पुनः संसदीय दलको नेता चयन भए।
संगठन निर्माण, जनसम्पर्क र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित बानियाँ सामाजिक क्षेत्रमा पनि सक्रिय रह्र्का छन् । मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण समितिका अध्यक्ष लगायत विभिन्न संघसंस्थामा उनको सक्रियता छ।
आफ्नै दलको नेतृत्वमा सरकारको नेतृत्व परिवर्तन गराउँदै बानियाँले देखाएको राजनीतिक परिपक्वतालाई विश्लेषकहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

