दुप्चेश्वर धाम हुँदै गोसाइँकुण्ड पुग्ने छोटो र सहज पदमार्ग: यात्रु उत्साहित



नुवाकोट, साउन २१ — गोसाइँकुण्ड यात्रा अब झनै सहज र रमणीय हुँदै गएको छ। गोसाइँकुण्ड पुग्न चाहने श्रद्धालु र पदयात्रीका लागि काठमाडौ, छहरे-टोखा,दुप्चेश्वर महादेव, घ्याङ्देबी माइ, सिसुपु, तालु, फेदी, हाईक्याम्प हुँदै सिधै गोसाइँकुण्ड जोड्ने छोटो पदमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।

गत वर्ष निर्माणाधीन अवस्थामै रहेको यो पदमार्गले यात्रुहरूलाई केही असहज यात्राको अनुभव गराए पनि, यस वर्ष बाटोको स्तरवृद्धि भएपछि यात्रुहरूले सहज र आरामदायी यात्रा गर्न पाएका छन्। यस पदमार्गबाट गोसाइँकुण्ड पुग्न चाहनेलाई अब यात्रा छोटो मात्र होइन, सुविधाजनक पनि बनेको छ।

पदयात्रीहरूका अनुसार प्रत्येक दुई किलोमिटरको दूरीमा खाने र बस्ने सुविधासम्पन्न स्थानहरू निर्माण गरिएको छ। यात्रुहरूलाई विश्रामका लागि आवश्यक सुविधा जुटाइएका कारण लामो यात्रा पनि थकाइरहित हुने अपेक्षा गरिएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुहरूको अनुभव निकै सहज र सकारात्मक रहेको उनीहरू बताउँछन्।

यस मार्गबाट यात्रा गर्दा सुर्यकुण्ड, बर्माकुण्ड, नन्दीकुण्ड जस्ता महत्वपूर्ण तीर्थस्थलहरूको समेत दर्शन गर्ने अवसर मिल्छ। त्यसैले धार्मिक, प्राकृतिक सौन्दर्य र पदयात्राको स्वाद एकैपटक लिने चाहना राखेकाहरूका लागि यो मार्ग आकर्षणको केन्द्र बन्दै गएको छ।

स्थानीयवासी र पदमार्ग व्यवस्थापन समितिले आगामी वर्षहरूमा तालु सम्म मोटर बाटो पु¥याउने योजना बनाइरहेको छ। यदि यो योजना सफल भएमा सामान्य हिँडडुल गर्ने यात्रुहरूका लागि पनि १० घण्टाको सजिलो यात्रामा गोसाइँकुण्ड पुग्न सकिने विश्वास लिइएको छ।

दुप्चेश्वर महादेवको दर्शनसँगै सुरु हुने यो पदमार्गले घ्याङ्फेदी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई समेत उजागर गरिरहेको छ। स्थानीय व्यवसायी र पर्यटन विकासमा जोड दिँदै आएका संस्थाहरूले यो मार्ग क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय समृद्धिको आधार बन्नेमा आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्