गोसाइँकुण्ड पदमार्गमा सञ्चालित २६ वटा होटल तथा अस्थायी थर्पुलाई जरिवाना
रसुवा,साउन २१ । जिल्ला प्रशासन कार्यालय रसुवाबाट गोसाइँकुण्ड पदमार्गमा खटिएको अनुगमन समितिले करिब चार लाख रुपैंया जरिवाना गरेको छ ।
उपभोक्त्ता संरक्षण ऐन २०७५ बमोजिमको मापदण्डमा सञ्चालन नगरिएका गोसाइँकुण्ड पदमार्गमा सञ्चालित २६ वटा होटल तथा अस्थायी थर्पुलाई जरिवाना गरिएको हो ।
हरेक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइकुण्डमा लाग्ने मेलामा स्थानीय होटल तथा थर्पुहरुको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा यात्रीहरुबाट बारम्बार गुनासोहरू आएपछि अनुगमन समितिले सो क्षेत्रमा अनुगमन गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, गोसाइकुण्ड गाउँपालिका, रसुवाका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीबाट गोसाइकुण्ड पदमार्ग क्षेत्रमा अवस्थित स्थानीय होटल तथा थर्पुहरुको अनुगमन गरेको हो ।
होटल तथा थर्पुमा अनुगमन गरेर मापदण्ड पालना नगरेका २६ वटा होटल तथा अस्थायी थर्पुबाट पाँच हजार रुपैंया देखि ३५ हजार रुपैयाँ जरिवाना गरी ३ लाख ८० हजार रुपैंया जरिवाना गरिएको जनाएको छ ।
थर्पु सञ्चालन गर्दा अस्थायी शौचालय समेत निर्माण नगरेको, डस्टबिनको व्यवस्था नगरेको, मर्यादित व्यवहार नगरेको तथा तोकेको भन्दा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी दु्रब प्रसाद अधिकारीले बताए ।
अनुगमनका क्रममा दिइएका सुधार सुझावहरु एवम् निर्देशनहरु कार्यान्वयन गर्न र असल अभ्यासहरुलाई निरन्तरता दिन होटल तथा थर्पु व्यावसायीहरुलाई अनुगमन समितिले अनुरोध समेत गरेको छ ।

