शिवपुरी र ककनीको लौके झरनातर्फ काठमाडौंदेखि पदयात्रा
नुवाकोट,साउन २१ । काठमाडौँ नजिकैको प्राकृतिक स्वर्ग शिवपुरी र ककनीस्थित लौके झरना पछिल्लो समय साहसिक यात्राका सौखिनहरूका लागि नयाँ गन्तव्य बनेको छ। घना जंगल, शीतल हरियाली र अग्लो पहाडबाट खस्ने जलप्रवाहको मनमोहक दृश्यले भरिपूर्ण यो स्थानमा ‘Hike For Nepal’ (HFN) ले साउन ३१ गते विशेष पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।
भृकुटीमण्डपबाट बिहान ७ बजे सुरु हुने यात्रा काफलडाँडा, ढोडेनी, लौके झरना हुँदै थानापाटीमा पुगेर सम्पन्न हुनेछ। करिब १२ देखि १४ किलोमिटर लामो यो पदयात्रा सजिलोदेखि मध्यम कठिनाइको हुनेछ, जसमा ६–७ घण्टा समय लाग्ने आयोजकले जनाएको छ ।
एचएफएन(HFN )का अनुसार अघिल्लो वर्ष निर्माणाधीन अवस्थामा रहेको पदमार्गलाई यो वर्ष थप व्यवस्थित बनाइएको छ। हाल चिप्लो र जोखिमयुक्त बाटो सुधार गरी सहज र सुरक्षित यात्राको वातावरण तयार गरिएको छ। प्रत्येक दुई किलोमिटरको दूरीमा खाने र बस्ने सुविधासमेत उपलब्ध गराइएको छ, जसले यात्रुलाई थप सहज बनाउनेछ।
यस कार्यक्रमको सहभागिता शुल्क पहिलोपटक सहभागी हुनेहरूका लागि १५०० र पुनः सहभागीहरूका लागि ९०० रुपैयाँ तोकिएको छ। सहभागीतामा HFN टी–सर्ट, सवारी, गाइड सेवा, प्राथमिक उपचारसहितको व्यवस्था गरिएको छ।
एचएफएन (HFN) ले आगामी वर्षहरूमा तालु सम्म मोटरबाटो पुर्याउने योजना रहेको जानकारी दिएको छ। बाटो पुरा भएपछि गोसाइँकुण्डको यात्रा अझ सहज र छोटो समयमै सम्पन्न गर्न सकिने अपेक्षा गरिएको छ।
HFN ले सहभागीताका लागि बुकिङको अन्तिम मिति साउन ३० गते तोकेको छ। इच्छुकहरूले बैंक र ईसेवा मार्फत भुक्तानी गरी बुकिङ गर्न सक्नेछन्।
HFN ले यो पदयात्रालाई केवल साहसिक यात्रा मात्र नभई स्वास्थ्य र प्रकृतिसँगको सम्पर्क कायम गर्ने माध्यमका रूपमा समेत अघि सारेको छ। सहभागीहरूलाई आवश्यक सामग्री जस्तै ट्रेकिङ जुत्ता, रेनकोट, पानी, खाजा आदि साथमा लिएर आउन आग्रह गरिएको छ।

