च्याउ खेतीबाट उद्यमशीलता र नेतृत्वतर्फ: विदुरका रुपक कुमालको प्रेरक यात्रा
नुवाकोट,साउन २१ । विदुर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य रुपक कुमालले आफ्नै माटोमा पसिना बगाएर स्थानीय स्तरमा उद्यमशीलताको अनुकरणीय उदाहरण प्रस्तुत गरिरहेका छन्। राजनीति र कृषिलाई एकसाथ अघि बढाउँदै आएका कुमालले विगत ११ वर्षदेखि व्यावसायिक च्याउ खेती गर्दै आइरहेका छन्।
२०७० सालबाट च्याउ खेतीमा सक्रिय कुमालले हाल झण्डै ६ रोपनी क्षेत्रफलमा आधुनिक तरिकाबाट च्याउ उत्पादन गरिरहेका छन्। व्यवसायिक दृष्टिले सुरुवात गर्दा धेरै कठिनाइहरूको सामना गरे पनि अहिले उनी सफल उद्यमीका रूपमा स्थापित भइसकेका छन्।
“शुरुमा साधारण झुपडीबाट च्याउ उत्पादन थालेको थिएँ, अहिले आधुनिक टनेल प्रविधि प्रयोग गरेर व्यवसायलाई विस्तार गरिरहेको छु,” कुमालले बताउनु हुन्छ। उनको फार्ममा प्रतिवर्ष ठूलो परिमाणमा च्याउ उत्पादन हुन्छ, जसले नुवाकोट, काठमाडौं लगायतका बजारमा सहजै खपत पाइरहेको छ।
च्याउ खेतीबाट कुमालले मात्र आफ्नै आम्दानी बढाएका छैनन्, उनले पाँच जनालाई स्थायी रोजगारसमेत दिएका छन्। “जग्गा छ, समय छ भने गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्थें,” कुमाल भन्छन्, “त्यही सोच अनुसार खेतीलाई व्यवसाय बनाएको हुँ।”
राजनीतिमा सक्रिय रहेका कुमाल हाल वडा नम्बर ६ का वडा सदस्यको जिम्मेवारी समेत सम्हालिरहेका छन्। समाज सेवा र उद्यमशीलता दुवैलाई सँगसँगै अगाडि बढाउँदै उनले युवाहरुलाई गाउँमै स्वरोजगार बन्न प्रेरित गर्दै आएका छन्।
कुमालको भनाइमा कृषि र व्यवसायलाई सँगसँगै अघि बढाउन सके स्थानीय रोजगारी सिर्जना मात्र नभई गाउँको आर्थिक विकासमा समेत टेवा पुग्नेछ। उनले भविष्यमा च्याउ खेतीलाई थप व्यवस्थित बनाउँदै जैविक मल, कम्पोस्ट र च्याउजन्य परिकारको उत्पादनसमेत गर्ने योजना बनाएका छन्।

