पञ्चकन्यामा चिया खेतीको नयाँ आयाम : कृषि र पर्यटनको समृद्धि यात्रातर्फ बढ्यो थप एक पाइला
• भरतसन्तोषी लामा
नुवाकोट,साउन २२ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चिया खेतीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सुरु गरिएको अभियानले गाउँमा नयाँ उत्साह ल्याएको छ। पर्यटकीय क्षेत्र घ्याङस्वरा पार्क आसपास चिया खेती विस्तार गर्ने उद्देश्यले हालै विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
चिया तथा कफी विकास बोर्ड, ककनीको कार्यालयमा गई चिया नर्सरीका लागि आवश्यक डाला अनुगमन गरि २१,००० बराबरको डाला ल्याउने तयारी गाउँपालिकाले गरेको हो । चिया नर्सरी स्थापनासँगै स्थानीयस्तरमा व्यावसायिक उत्पादनतर्फको यात्रा शुरु हुने विश्वास गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ राख्छन् ।
यस कार्यक्रममा पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, रोजगार संयोजक सरोज केसीसहित पालिकाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ । चिया तथा कफी विकास बोर्डका निमित्त कार्यालय प्रमुख एकराज सन्जेलको प्राविधिक मार्गदर्शन र सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाइएको कर्मचारीहरु बताउँछन् ।
स्थानीय उत्पादन र रोजगारी सिर्जना गर्ने, कृषिमा आत्मनिर्भरता हासिल गर्ने र पर्यटनसँग जोडिने उद्देश्यसहित चिया खेती विस्तार गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष बिमला केसी बताउछिन् । उपाध्यक्ष केसीले चिया खेतीले गाउँका किसानलाई वैकल्पिक आयआर्जनका अवसरहरू दिने विश्वास व्यक्त गर्दै महिला र युवाहरूलाई सशक्तिकरण गर्ने माध्यम बन्ने बताइन्।
घ्याङस्वरा पार्कलाई केन्द्रविन्दु बनाएर चिया खेती विस्तार गरी पर्यटकलाई प्रत्यक्ष अवलोकन, स्वाद र स्थानीय संस्कृतिको अनुभव दिने रणनीति गाउँपालिकाले अघि सारेको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना, जैविक उत्पादनको प्रवर्द्धन र पर्यटन विस्तार गर्ने दीर्घकालीन योजना सहित चिया खेती अभियान अघि बढाइएको छ।
चिया खेती कार्यक्रमले पञ्चकन्यालाई कृषिमा आधारित पर्यटनको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ। गाउँपालिकाले गाउँलाई आत्मनिर्भर बनाउने र समृद्धि यात्रामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित चिया खेतीलाई प्राथमिकतामा राखेको जनाएको छ।

