मिर्गौला तस्करी गर्ने नुवाकोटका समीर परियार पक्राउ



काठमाडौँ,साउन २२ । मिर्गौला तस्करीको संगठित गिरोहमा संलग्न रहेको आरोपमा नुवाकोटका समीर परियार पक्राउ परेका छन्। विस्तृत विवरण भने पत्रकार सम्मेलन मार्फत जानकारी दिइने प्रहरीले जनाएको छ। परियारमाथि सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला तस्करी गर्न सहयोग गरेको आरोप लागेको हो।

प्राप्त जानकारी अनुसार भुजेललाई काठमाडौँबाटै फकाएर सुनौली नाका हुँदै भारत पुर्‍याउने र पुनः ल्याउने कार्यमा समीर संलग्न थिए। एक व्यक्तिलाई भारत पुर्‍याएबापत उनले ५० हजार रुपैयाँसम्म कमिसन लिने गरेको पनि खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पुष्टि गरेका छन्। “बुधबार एक जनालाई नियन्त्रणमा लिएको छौं, हाल मिर्गौला तस्करीमा उनको भूमिका के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,” उनले भने।

यसअघि मिर्गौला पीडित खिलबहादुरले आफुलाई पोखराबाट अपहरण गरेर भारत लगिएको बताएका थिए। तर, अनुसन्धानको क्रममा उनलाई काठमाडौँबाटै जालसाजीमार्फत भारत पुर्‍याइएको खुलेको खिलबहादुरका दाजु मानबहादुर भुजेलले बताएका छन्।

मानबहादुरका अनुसार खिलबहादुरलाई जडीबुटी बजारमा स्वास्थ्य परीक्षण गराई कीर्तिपुर पुर्‍याइएको थियो। त्यसपछि कंलकीमा खाजा र मदिरा खुवाइएको, नौबिसेमा खाना खुवाएर सुनौली नाका हुँदै भारत पठाइएको खुल्न आएको छ। उनको मिर्गौला साउन ९ गते भारतमै निकालिएको पाइएको छ।

यसअघि खिलबहादुरले राम्रो रोजगारीको प्रलोभनमा भारत लैजाने, कामको पैसा माग्दा बेहोस बनाइ मिर्गौला निकालिएको बताएका थिए। होश आउँदा आफू काठमाडौँको कलंकीमा रहेको उनले बताउँदै आएका छन्।

स्रोतका अनुसार यस्तै शैलीमा भुजेलसहित पाँच जना अन्य व्यक्तिहरूलाई पनि भारत लगिएको आशङ्का गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्