गाईजात्राको अवसरमा साउन २५ गते बागमती प्रदेशभर सार्वजनिक बिदा
हेटौंडा, साउन २२ । बागमती प्रदेश सरकारले आगामी साउन २५ गते बिहीबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गर्दै बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२ मा प्रदेश राजपत्र भाग ३ मा मिति २०८१ साउन २१ गते प्रकाशित सूचनाको आधारमा साउन २५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो।
मन्त्रालयकी सूचना अधिकारी रबिता कार्कीद्वारा हस्ताक्षरित सूचनामा गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ। उक्त सूचना सम्पूर्ण सरोकारवालाहरूका लागि जानकारीको लागि जारी गरिएको हो।
गाईजात्रा विशेष गरी काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध सांस्कृतिक पर्व हो, जुन दिवंगत आत्माहरूको सम्झनामा मनाइन्छ। प्रदेश सरकारले सांस्कृतिक विविधताको सम्मानस्वरूप बिदा दिने निर्णय गरेको बताइएको छ।


