विद्यालय शिक्षा ऐन नआएपछि शिक्षक महासंघ फेरि आन्दोलनमा
काठमाडौं,साउन २२— नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारद्वारा तोकिएको मितिसम्म विद्यालय शिक्षा ऐन नआएकोले आन्दोलनमा जानुपरेको हो। उनले भने, “अधिकार सुनिश्चित गर्ने कानुनी आधार नै आउन नसक्दा शिक्षक समुदाय निराश छन्। अब फेरि दबाब दिन बाध्य भयौं।”
सरकारले यसअघि शिक्षा ऐन तोकिएको समयमै ल्याउने प्रतिबद्धता जनाएको थियो। तर ऐन सार्वजनिक नहुँदा महासंघले आन्दोलनको बाटो रोजेको हो।

