शिक्षक बढुवामा तीन विधिमा सहमति
काठमाडौँ,साउन २३— संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक बढुवाका लागि तीन विधि तय गरिएको छ। अब शिक्षकहरूलाई आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा गरिनेछ।
माध्यमिक तहको तृतीय श्रेणीमा पहिलो पटक बढुवाबाट पदपूर्ति गरिने भएको छ। यस तहमा २० प्रतिशत कोटा निम्नमाध्यमिकका शिक्षकबाट बढुवा हुनेछन् भने ८० प्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ने व्यवस्था छ। द्वितीय र प्रथम श्रेणीमा पनि तीनै आधारमा क्रमशः २०/४०/४० र १०/४५/४५ प्रतिशत कोटा निर्धारण गरिएको छ।
साथै, नेपाल शिक्षक महासंघका पदाधिकारीमध्ये प्रधानाध्यापक बनेका सदस्यको महासंघ सदस्यता स्वतः निष्क्रिय हुने र काजमा रहने पदाधिकारीले मन्त्रालयले तोकेको निकायमा नियमित हाजिरी दिनुपर्ने व्यवस्था गरिएको छ।
विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिमा कडाइ गर्ने विषयमा पनि सहमति जुटेको छ भने केही अन्य विषयमा छलफल जारी छ।

