उत्तराखण्डमा बाढीमा हराएका नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल
काठमाडौं,साउन २३। भारतको उत्तराखण्डमा हालै आएको बाढीमा परी हराएका १८ जना नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल शुरु गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाढीमा परि हराएका मध्ये जाजरकोटका ७ जनाको मृत्यु भएको जाजरकोट कुशे गाउपालिकाले जानकारी दिएको छ तर भारतस्थित नेपाली दुतावासले भने बाढीमा परि नेपालीको मृत्यु भएको जानकारी हालसम्म प्राप्त नभएको जनाएको छ ।
भारतको उत्तराखण्डमा साउन २० र २१ गते आएको बाढीपहिरोमा परि केही नेपालीहरु पनि सम्पर्कविहीन भएका छन् । जाजरकोट, रोल्पा, जुम्ला र बर्दिया लगायत जिल्लाबाट रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु बेपत्ता भएका हुन् । उत्तराखण्डको बाढीले बर्दियाका मधुवन नगरपालिकाका चार जना बेपत्ता भएका छन् ।
भारत उत्तराखण्ड राज्यको पौडी तथा बाँकुडा लगायतका जिल्लामा रोजगारीको सिलसिलामा पुगेका उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का र वडा नं. ५ की अमृता परियार रहेका छन् । बेपत्ताको खोजीका लागि उनीहरुको परिवार उत्तराखण्ड पगेका छन् भने बेपत्ता भएकोहरूको अवस्था हालसम्म अज्ञात रहेको आफन्तहरूले बताएका छन् ।
यस्तै बाढीमा परि जाजरकोटका १३ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुमध्ये ७ जनाको मृत्यु भएको जाजरकोट कुशे गाउपालिकाका अध्यक्ष हरिश चन्द्र बस्नेतले पुष्टि गरे । अन्य बेपत्ता भएकाहरु भने सम्पर्कमा आएको जानकारी अध्यक्ष बस्नेतले दिए ।
मृतकहरुको शव नेपाल ल्याउनका लागि संघीय सरकारसँग पहलका लागि आग्रह गरेको अध्यक्ष बस्नेतले बताए । यता पहिरोमा परि नेपालीहरु पनि बेपत्ता भएपछि नेपाल सरकारले खोजीका लागि कूटनीतिक पहल गरिरहेको छ ।
नेपालीहरु बेपत्ता भएको जानकारी पछि भारतको दिल्लीस्थित नेपाली राजदूतावासले भारतको स्थानीय प्रशासनसंग समेत सम्पर्क गरी कूटनीतिक पहल गरिरहेको जनाएको छ । विपदमा परेका मध्ये हालसम्म ३७२ जनाको उद्धार गरिएको त्यसमा २ जनाको मृत्यु भएको जानकारी उत्तराखण्ड प्रहरीले दिएको छ ।
तर मृतकको सूचीमा नेपाली नागरिक नपरेको र ७ जना नेपालीको मृत्यु भएको खबर बाहिर आएपनि हालसम्म आधिकारिक जानकारी नआएको भारतीय दुतावासले जनाएको छ ।
दुतावासका अनुसार बाढीमा परि घाइते भएका तीन जना नेपाली उपचार पछि घर फर्किएको र १ जनाको उपचार भइरहेको छ । बाढीले धेरै स्थानमा बिगारेकाले सडक मार्गबाट घटनास्थल पुग्न समस्या भएकोले हेलिकप्टर मार्फत घटनास्थलमा जाने प्रयास भइरहेको दुतावासले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित भएको बताउनुभएको छ । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि हराएको खबर आएकोले नेपालीहरुको उद्दारको लागि दूतावास मार्फत कुटनीतिक पहल भइहरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएका छन् ।
सो बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्रमन्त्री डा राणाले उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताएकी छिन।
हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको समेत परराष्ट्रमन्त्री डा राणाले जानकारी दिइन।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको पर्यटकीय गाउँ धराली बजार अत्याधिक वर्षापछि आएको बाढीले पुरै ध्वस्त भएको थियो । होटलहरु भएको क्षेत्रमा अझै धेरै मानिसहरु फसेकोले उद्धार कार्य जारी राखिएको छ तर हिलो र लेदोले होटेलहरु पुरिएकोले उद्धार कार्यमा कठिनाइ भएको छ ।

