प्रधानमन्त्री ओली औपचारिक भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौँ,साउन २४ — तुर्कमेनिस्तानको अवाजामा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली आज राति ११:५५ बजे दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुगेका हुन् । चार दिने औपचारिक भ्रमणका क्रममा उनले सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै भूपरिवेष्ठित राष्ट्रहरूको आर्थिक विकास, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजता, पूर्वाधार निर्माण र आपसी सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए ।
उनले सम्मेलनमा सहभागी अन्य राष्ट्रका प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्दै पारस्परिक हितका विषयमा छलफल गरेको जनाइएको छ।
अवाजास्थित तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रह सित मेरे डोभले प्रधानमन्त्री ओलीलाई बिदाइ गरेका थिए । प्रधानमन्त्रीसँग सरकारी अधिकारी तथा नेपाली प्रतिनिधिमण्डल पनि स्वदेश फर्किएको छ।

