नुवाकोट तादीमा भारी वर्षाले डगमगाएको कालो ढुंगाले बस्ती जोखिममा, सांसद तामाङको स्थलगत अनुगमन



नुवाकोट,साउन २४— नुवाकोटको तादी गाउँपालिका–४ बाह्रबिसेमा रहेको कालो ढुंगा भारी वर्षापछि खस्ने अवस्थामा पुगेको छ। करिब चार दिनअघि भएको मुसलधारे वर्षाले ढुंगा करिब १ मिटर तल खस्दै डगमगाएको हो, जसका कारण आसपासको बस्ती उच्च जोखिममा परेको छ ।

जोखिम क्षेत्रका रूपमा मिनबहादुर श्रेष्ठ, अमृत लाल श्रेष्ठ, अम्मरबहादुर श्रेष्ठ र सुरेन्द्र तिमसिनाको घर प्रत्यक्ष प्रभावित हुने देखिएको छ। त्यस्तै, गंगटे–समुन्द्रटार–गोल्फु भञ्ज्याङ सडकको बाह्रबिसे खण्ड, कल्याण माध्यमिक विद्यालय, बुद्धभूमि हाइड्रोपावरको पाइपलाइन र आसपासका खेतीयोग्य जमिन पनि खतरामा परेका छन्।

२०७९ सालमा खसेको ढुंगाले यसअघि पनि स्थानीय संरचना र जमिनमा क्षति पु¥याएको स्मरण गर्दै स्थानीयवासीहरूले तत्काल जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरेका छन्।

शुक्रबार उक्त स्थानको स्थलगत अनुगमनमा सांसद हितबहादुर तामाङसहित जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, नेपाली सेनाका कर्णेल अशोक मल्ल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, वडा अध्यक्ष आश्विन पाण्डे तथा स्थानीय सरोकारवालाहरू सहभागी भएका थिए।

अनुगमन टोलीले जोखिमग्रस्त क्षेत्रको अवलोकन गरी सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाँडै चाल्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्