३३ वर्षपछि गोरखाको मझुवा–बैटारी–हटिया सडक कालोपत्रे
गोरखा,साउन २४ — गोरखा नगरपालिका–१३ अन्तर्गतको मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे गरिएको छ। गोरखा र तनहुँको पुलको सिमानामा रहेको प्रमुख प्रवेशद्वार नजिकैको करिब ५०० मिटर सडक गोरखा नगरपालिकाको विशेष पहलमा कालोपत्रे गरिएको हो।
नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको सांसद विकास कोषबाट ९६ लाख ४३ हजार ६२४ रुपैयाँ विनियोजन गरी सडक कालोपत्रे गरिएको वडा अध्यक्ष मित्रकुमारी नेपालीले जानकारी दिए।
यो सडक कालोपत्र योजनाका लागि चिराग कन्ट्रक्सन प्रालिसँग २०८० साल जेठ ७ गते सम्झौता भएको थियो। २०८१ साल जेठ ६ भित्र सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ हुँदै आएकोमा साना सहरी विकास कार्यालय कास्कीको पटक–पटकको ताकेतापछि झन्डै ३ वर्षपछि कालोपत्रे सम्पन्न भएको वडा अध्यक्ष नेपालीको भनाइ छ।
कालोपत्रे भएपछि वडा नम्बर १३ भित्रका दराई गाउँ, जैकोट, फेदीखोला, सातदोबाटे, युखर्क, बैटारी, सुनार गाउँ, तल्लो हटिया, मनमस्ता, सिमलथुम्की, ढकाल गाउँ, बेलघारी, ठिमुरे र वडा नम्बर १४ का उपल्लो हटिया, कोट गाउँ, छाँकु, प्युघर, याङकोटजस्ता बस्तीमा पहुँच सहज भएको छ।
विसं २०४९ सालमा ट्रयाक खुलेको यो सडक २०८२ सालमा कालोपत्रे भएपछि स्थानीयवासी खुसी भएका छन्। “धेरै वर्षको प्रतीक्षापछि सडक कालोपत्रे भएपछि यहाँका उत्पादन, जस्तै तरकारी तथा मासुजन्य वस्तु, नजिकैको आँबुखैरनी र गोरखा सदरमुकाममा सहजै बिक्री गर्न सकिने भएको छ,” वडा अध्यक्ष नेपालीले बताए ।

