३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस झाँकीसहित मनाइयो
काठमाडौँ,साउन २४— ‘आदिवासी जनजाति कृत्रिम बौद्धिकता: अधिकारको रक्षा र भविष्यको निर्माण’ भन्ने नारासहित ३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस शनिबार देशभर मनाइयो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा राजधानीमा झाँकीसहितको र्याली आयोजना गरियो।
गुरुङ, मगर, थारू, नेवार, तामाङ, राई, लिम्बू लगायतका जातीय संस्थाहरूले आफ्ना ब्यानरसहित र परम्परागत पोशाकमा सजिएर र्यालीमा सहभागिता जनाए। भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर मूल समारोहमा परिणत भयो।
हरेक वर्ष अगस्ट ९ मा मनाइने यस दिवसले विश्वभरका आदिवासी जनजाति समुदायको मौलिक हक र सांस्कृतिक मूल्यमान्यताको संरक्षणका लागि ध्यानाकर्षण गर्दै आएको छ। संयुक्त राष्ट्र संघले सन् १९९४ मा आदिवासी समुदायको समृद्ध संस्कृति, पहिचान र योगदानको सम्मानस्वरूप यो दिवस मनाउने घोषणा गरेको हो। यो दिन सन् १९८२ मा संयुक्त राष्ट्र महासभामा बसेको आदिवासी जनजाति समुदायको पहिलो बैठकको स्मरणमा मनाइन्छ।
समृद्धिको मार्गमा आउन नसकेका आदिवासी जनजाति समुदायको राजनीतिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अधिकार स्थापनाका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन्। संयुक्त राष्ट्र संघको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणा (UNDRIP) र अन्तर्राष्ट्रिय सम्झौता (ILO 169) नेपालले अनुमोदन गरिसकेको भए पनि आत्मनिर्णय र सामूहिक अधिकार कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरूको भनाइ छ।

