बडीमालिका क्षेत्रमा भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्रीको शव सेनाद्वारा उद्धार



बाजुरा,साउन २५ — बडीमालिका नगरपालिकास्थित विष्णुपानी क्षेत्रमा भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्रीको शव नेपाली सेनाले उद्धार गरेको छ।

साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते सोही स्थानमा भीरबाट लडेर ज्यान गुमाएका थिए। दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भीरमा अड्किएका थिए।

भौगोलिक कठिनाइका कारण स्थानीय नेपाल प्रहरीले तत्काल शव निकाल्न नसकेपछि नेपाली सेना खटिएको थियो। सेनाको उद्धार टोलीले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा शनिबार साँझ शव निकाल्न सफल भएको ईश्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिलसेनाले जानकारी दिए।

उनका अनुसार शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ। “हिजो भीरबाट निकालेर आधा बाटोसम्म ल्याएका थियौं। भीरको अप्ठेरो बाटोका कारण शव बोक्न कठिन भएकोले हिजो साँझ त्यहीँ राखिएको थियो। आज बिहानदेखि तलतिर ल्याउने काम भइरहेको छ,” तिमिलसेनाले बताए।

खराब मौसमका कारण हेलिकप्टर माथिसम्म जान नसकेपछि शवलाई तल ल्याएर पठाउने तयारी भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्