नुवाकोट दुप्चेश्वर–४ का स्थानीयले काठमाडौंमा बसेरै पाए सेवा
नुवाकोट, साउन २५ — दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ ले काठमाडौंमा रहेका आफ्ना नागरिकका लागि विशेष सेवा कार्यक्रम सञ्चालन गरेको छ। वडाले कर्मचारी टोली खटाएर काठमाडौको गोकर्णेश्वर–८ बेसिगाउँमा भत्ता नवीकरण, जन्म, मृत्यु र विवाह दर्ता, नागरिकता सिफारिसलगायत सेवा प्रदान गरेको हो।
वडा अध्यक्ष ज्ञानबहादुर तामाङका अनुसार सार्वजनिक बिदाको दिन पारेर सुरु गरिएको सेवा प्रवाह मंगलबारसम्म चल्नेछ। पहिलो दिनमै ९० जनाले सेवा लिएका छन्।
उक्त कार्यक्रम वडाको समितिको निर्णयअनुसार सञ्चालन गरिएको हो। वडा क्षेत्र नुवाकोटको सदरमुकामदेखि टाढा तथा वर्षायाममा आवतजावतमा समस्या भएपछि काठमाडौंमा बसोबास गर्ने नागरिकलाई सहजताका लागि यस्तो व्यवस्था गरिएको वडा अध्यक्ष तामाङले बताए।
स्थानीय मिठु तामाङले यस्ता सेवाले वास्तविक राहत मिलेको अनुभव सुनाइन्। उनले भनिन्, “वर्षाको समयमा नुवाकोट यात्रा, त्यो पनि टाढा गाउँसम्म पुग्न निकै समय लाग्छ। हिलो बाटो हुँदा झन् समस्या हुन्छ। यस्ता सेवाले हामी जस्तालाई निकै सहज भएको छ।”

