नुवाकोटको छहरे बजारमा गाइजात्राको रौनक
तस्वीर: बिकास आचार्य
नुवाकोट, साउन २५— जिल्लास्थित लिखु गाउँपालिकाको बजार क्षेत्र छहरे बजारमा यस वर्ष पनि गाइजात्रा धूमधामसाथ मनाइएको छ। हरेक वर्षझैँ यस पटक पनि लिखु गाउँपालिका–६ भट्टथोकबाट नेवार समुदायले लाखेसहितको गाइजात्रा निकालेर छहरे बजारमा प्रदर्शन गरेका हुन्।
नेवार समाजका अध्यक्ष महेश डङ्गोलका अनुसार यस वर्षको कार्यक्रमलाई परम्परागत चलनअनुसार व्यवस्थित रूपमा आयोजना गरिएको हो। गाइजात्रामा सहभागीहरूले दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी गाउँ परिक्रमा गरेका थिए। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गरेका थिए। धार्मिक विश्वासअनुसार, यसरी गाउँ परिक्रमा गर्नाले दिवङ्गत आत्माहरू गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सहयोग पुग्छ भन्ने आख्यान प्रचलित छ ।
ऐतिहासिक तथ्यअनुसार, राजा प्रताप मल्लले आफ्नो पुत्रको मृत्युका कारण शोकमा डुबी रहेकी रानीलाई अन्य मानिसहरूले पनि यस्तै दुःख भोगेका हुन्छन् भन्ने देखाउन गाइजात्रा सुरु गराएका थिए। त्यसयतादेखि हास्यव्यङ्ग्य, प्रहसन र सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रस्तुति पनि यस पर्वको अभिन्न अङ्ग बन्दै गएको छ।
भाद्र कृष्ण अष्टमीसम्म मनाइने गाइजात्रामा नाचगान, व्यङ्ग्यात्मक प्रदर्शनी, करुण रसका गीत तथा मृत व्यक्तिको सम्झनामा धार्मिक अनुष्ठान गरिन्छ। यद्यपि देशभर मनाइए पनि, उपत्यकामा यसको विशेष रौनक देखिन्छ भने नुवाकोटको छहरे बजारमा लाखेनाचसहितको गाइजात्राले विशेष आकर्षणका रुपमा मनाइन्छ । यसवर्ष वागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक बिदा समेत दिएको थियोे ।

