शव जलिरहेको अवस्थामा हड्डी निकाल्ने दुई जना पक्राउ



काठमाडौँ, साउन २५— पशुपतिनाथ परिसरस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर अन्य व्यक्तिलाई दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव अन्त्येष्टि भइरहेको बेला हड्डी निकालेर एक तान्त्रिकलाई दिएको आरोप मृतकका परिवारले लगाएका थिए। परिवारबाट प्राप्त सूचनाका आधारमा प्रहरीले तत्कालै दुवै जनालाई नियन्त्रणमा लिएको हो।

हाल उनीहरूलाई प्रहरी वृत्त गौशलामा राखी सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्