थानापती सेवा समाजको ११औं साधारण सभा सम्पन्न
काठमाडौँ,साउन २६ — शिवपुरी गाउँपालिका–८ थानापतीका बासिन्दालाई समेटेर २०६६ सालमा सामाजिक कार्यको उद्देश्यले स्थापना गरिएको थानापती सेवा समाजले आफ्नो ११औं वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
आइतबार टोखा नगरपालिका–११, सामुदायिक भवन महादेवटारमा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलियाको प्रमुख आतिथ्यता र थानापती सेवा समाजका अध्यक्ष केदारनाथ पाठकको सभापतित्व रहेको थियोे । कार्यक्रममा शिवपुरी–८ का वडा अध्यक्ष केशबप्रसाद रिजाल, वडा सदस्य अक्कलबहादुर तामाङ, महिला नेतृ इन्दिरा थापा, समाजका सदस्यहरू, शिक्षक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजमा आबद्ध महिलाहरूलाई तीजको अवसरमा दर खुवाइएको र भजन–कीर्तन तथा गीतमार्फत मनोरञ्जन प्रदान गरिएको थियो। सो अवसरमा थानापती सेवा समाजले आफ्नो आय–व्यय विवरण सार्वजनिक गरेको छ। साथै आजीवन सदस्य संख्या वृद्धि भएको जानकारी दिँदै क्यान्सर पीडितलाई आर्थिक सहयोग तथा महेन्द्र आधारभूत विद्यालयलाई चेक हस्तान्तरण गरिएको थियो।
समाजले उक्त विद्यालयमा शीघ्र सीसी क्यामेरा जडानका लागि सहयोग गर्ने घोषणा गरेको छ। अध्यक्ष पाठकले समाज सेवा नै संस्थाको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि सोही दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

