सगरमाथा आरोहण शुल्क बढ्ने
काठमाडौँ, साउन २६ — आगामी भदौ १६ गतेदेखि सगरमाथासहितका हिमाल आरोहण शुल्क बढ्ने भएको छ। पर्यटन विभागका अनुसार विदेशीले वसन्त ऋतुमा सगरमाथा (दक्षिणपूर्वी रुट) आरोहण गर्न अब १५ हजार अमेरिकी डलर तिर्नुपर्नेछ, हाल ११ हजार डलर लिँदै आएकोमा शुल्क बढाइएको हो।
शरद ऋतुमा शुल्क ७५०० डलर र शिशिर तथा वर्षा ऋतुमा ३७५० डलर हुने छ। नेपाली आरोहीका लागि वसन्त ऋतुमा १ लाख ५० हजार, शरदमा ७५ हजार र अन्य याममा ३५ हजार रुपैयाँ तोकिएको छ।
सरकारले एक दशकपछि दस्तुर परिमार्जन गर्दै ६ हजार मिटरभन्दा कमदेखि ८ हजार मिटरभन्दा माथिका हिमालमा पनि उचाइ र यामअनुसार शुल्क वृद्धि गरेको हो।

