रवि लामिछाने थुनामै रहने, धरौटीमा रिहा गर्ने माग अदालतद्वारा अस्वीकार
रुपन्देही,साउन २६ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो।
अदालतका स्रेस्तेदार विकास बस्नेतका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत बिगो बराबरको रकम राखेर रिहाइ पाउन माग गरेका थिए, तर अदालतले उक्त माग खारेज गरेको हो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिइ दफा ७१ बमोजिम रिहाइको माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए।
सोही दिन न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले दुवै पक्षलाई पेशीको सूचना दिने आदेश गरेको थियो। तर, साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ गते न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो।

