दुप्चेश्वर धाम संरक्षण र विकासका लागि स्थायी सहयोगको घोषणा



नुवाकोट,साउन २७ — दुप्चेश्वर महादेवको अनन्त कृपा र आशीर्वादमा दृढ विश्वास राख्दै, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार निवासी दिलकुमार श्रेष्ठले दुप्चेश्वर धामको संरक्षण, सम्वर्द्धन, विकास र सन्ध्या आरतीका लागि स्थायी सहयोग गर्ने घोषणा गरेका छन्।

श्रेष्ठले श्रावण महिनाको अन्तिम सोमबार सन्ध्या आरती आयोजना गर्दै रु ५५ हजार ५ सय ५५ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार यो सहयोग आजीवन निरन्तर रहनेछ।

कोषले श्रेष्ठ र उनको परिवारप्रति हार्दिक आभार, बधाई र सम्मान व्यक्त गर्दै उक्त प्रतिवद्धता धर्म, संस्कृति र सभ्यताको निरन्तरताका लागि प्रेरणादायी उदाहरण हुने जनाएको छ।

कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले यो सहयोग भविष्यका पुस्ताका लागि अमर स्मृति र पुण्यका रूपमा रहने विश्वास व्यक्त गरेका छन्। उनले महादेवको कृपा सदा श्रेष्ठ परिवारमाथि रहोस् र स्वास्थ्य, समृद्धि तथा सुख–शान्तिको आशीर्वाद प्राप्त होस् भन्ने शुभकामना पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्