टोखामा ‘कक्षाकोठामा सांसद’ कार्यक्रम



काठमाडौँ,साउन २७ — विद्यालयस्तरमा नागरिक सचेतना बढाउने उद्देश्यले पूर्व शिक्षा मन्त्री एवम् काठमाडौँ–६ का सांसद शिशिर खनाल टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा उपस्थित भई विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

सामाजिक शिक्षाको पाठ्यक्रमअनुसार “नागरिक सचेतना” खण्डमा संविधान निर्माणको अभ्यास, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको भूमिका, निर्वाचन प्रणाली, संघीय सरकारको गठन र कार्यक्षेत्रजस्ता विषय समावेश छन्। उक्त विषयलाई जीवन्त र व्यवहारिक बनाउन विद्यालयले ‘कक्षाकोठामा सांसद’ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सांसद खनालले कक्षा ९ र १० का विद्यार्थीहरूलाई नेपालको संसद‌मा हुने प्रक्रिया र कार्यविधि, लोकतान्त्रिक शासनको महत्व, तथा संविधानले नागरिकलाई दिएको अधिकारबारे जानकारी दिए। उनले विद्यार्थीहरूलाई जिम्मेवार नागरिकका रूपमा विकसित हुन र सक्रिय सहभागिता जनाउन पनि प्रेरित गरेका थिए।

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले सांसदको प्रत्यक्ष उपस्थितिले विद्यार्थीहरूमा लोकतन्त्रप्रति चासो र बुझाइ बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्