छोरीहरूले तोडे परम्परा, बुबाको दाहसंस्कार र किरिया बस्दै समाजलाई चुनौती



काभ्रे,साउन २७—काभ्रे जिल्लाको पनौती नगरपालिका–१ रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटाको निधनसँगै उनका तीन छोरी—विमला, निर्मला र राधिकाले किरिया बसेका छन्। पितृसत्तात्मक परम्पराअनुसार दाहसंस्कार र काज–करिया छोराले मात्र गर्ने मान्यता तोड्दै उनीहरूले बुबाको अन्तिम संस्कार आफैंले गरे।

यसअघि, परिवारका जेठी छोरी सुन्तली र माइली कमला स्वास्थ्य कारणले किरियामा सहभागी हुन सकेनन्। किरियामा बसेकी मध्ये जेठी विमला बनेपा नगरपालिका उप–प्रमुख र अखिल नेपाल महिला सङ्घ, काभ्रे जिल्ला अध्यक्ष हुन्। निर्मला बुद्धिजीवी परिषद् काभ्रेको कोषाध्यक्ष तथा पेसाले शिक्षक हुन् भने राधिका एमाले धादिङ जिल्ला सचिव र धादिङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष हुन्।

सानैमा आमा गुमाएका पाँच दिदीबहिनीहरूले नै बुबाको स्याहार–सुसार गर्दै आएका थिए। “हाम्रो घरमा छोरा नभए पनि, हामीले बुबाको हरेक जिम्मेवारी पूरा गरेका छौं,” उप–प्रमुख विमला सापकोटा भन्छिन्, “बुबाले अन्तिम इच्छा व्यक्त गर्नुभएको थियो—‘मरेपछि मेरो संस्कार छोरीहरूले नै गरुन्’।”

तर, यो कार्य सहज थिएन। समाजका केही सदस्य र आफन्तहरूले यसको खुलेर विरोध गरे। “हाम्रो कार्यप्रति दाजुभाइ र स्थानीय असन्तुष्ट छन्। उनीहरूले बहिष्कारसम्मको चेतावनी दिएका छन्,” राधिका सापकोटाले भनिन्। परम्परागत सोचका कारण किरियाका लागि नियुक्त पुरोहितले समेत असमर्थता जनाएपछि अर्को पुरोहितमार्फत काज–करिया भइरहेको छ।

यो यात्रामा उनीहरू एक्ला थिएनन्। परिवार र श्रीमानहरूको साथले उनीहरूलाई हिम्मत दियो। “समाजले प्रश्न गरे पनि हामीसँग परिवारको अटुट समर्थन छ,” विमलाका श्रीमान् हरिशरण दाहाल भन्छन्।

समाजमा महिलाको भूमिका विस्तार हुँदै गएको वर्तमान समयमा पनि संस्कारजस्ता संवेदनशील विषयमा महिलाले नेतृत्व लिँदा अझै ठूलो विरोधको सामना गर्नुपर्छ भन्ने तथ्य यो घटनाले देखाएको छ। सापकोटा दिदीबहिनीहरूको यो कदमले भविष्यमा यस्तै परिस्थितिमा परेका अरू परिवारलाई साहस दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्