चितवन सौराहामा हात्तीको बनभोज, पर्यटकको भीड
चितवन,साउन २७— देशको प्रमुख पर्यटकीय नगरी चितवनको सौराहामा अनौठो तर रमाइलो दृश्य देखियो — मानिसको होइन, हात्तीको बनभोज। बन वातावरण संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाघमारा मध्यवर्ती वन क्षेत्रमा सामूहिक हात्ती बनभोज कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा निजी घरपालुवा र सरकारी गरी ६० वटा हात्तीको सहभागिता थियो। हजारौं देशी–विदेशी पर्यटकले यस दृश्यलाई प्रत्यक्ष अवलोकन गरे। बनभोजमा हात्तीलाई चामल र भेलीबाट बनाइएको विशेष केक खुवाइयो। साथै उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजा लगायतका मिठाइ तथा फलफुल परिकारमा हात्ती निकै रमाएको देखिन्थ्यो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीका छावालाई सख्खर र फलफुलबाट बनेको केक खुवाएर बनभोजको औपचारिक सुरुवात गरे। आयोजकहरूले यो कार्यक्रमले वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउने र चितवनको पर्यटनमा नयाँ आकर्षण थप्ने विश्वास व्यक्त गरेका छन्।

