फोनिजद्वारा १२ पत्रकार सम्मानित र पुरस्कृत
काठमाडौं, साउन २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २६ औं स्थापना दिवस भव्यरुपले मनाएको छ। कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गरे। उनले पत्रकारको काम सत्यको उजागर गर्ने भएकाले समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरे।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कानुनी राज्यमा कसैको आवाज दबाउन नमिल्ने बताउँदै पत्रकार मुलुकको आवाज भएको धारणा राखे। कार्यक्रममा पूर्वमन्त्रीहरू हितबहादुर तामाङ, भगवती चौधरी र कान्छाराम तामाङ, फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा लगायतका वक्ताहरूले पत्रकारितामा अनुसन्धान, अध्ययन र समावेशीताको महत्वबारे धारणा राखे।
कार्यक्रममा मातृभाषा पत्रिकासहित १२ जना पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। फोनिज पत्रकारिता सम्मान २०८२ गजुरधन राई, अमरध्वज लामा र कोचिला सामान (राजवंशी भाषाको त्रैमासिक पत्रिका) लाई प्रदान गरियो भने फोनिज पत्रकारिता पुरस्कार सविन प्रियसन, मुनेस रायो मगर र बन्दना दनुवारलाई दिइयो।
फोनिज प्रवास अवार्ड २०८२ मच्छे गुरुङ (अमेरिका) लाई, फोनिज मलेसिया पुरस्कार सपना थामी र ज्ञानेन्द्र तामाङलाई र फोनिज युके पत्रकारिता पुरस्कार २०८२ आश गुरुङ र डोल्मा शेर्पालाई प्रदान गरिएको हो। बागमती प्रदेश समितिको तर्फबाट पूर्णबहादुर मगरलाई पनि सम्मान प्रदान गरिएको थियो। मन्त्रीद्वय गुरुङ र चौधरीले सम्मान तथा पुरस्कार वितरण गरे । कार्यक्रममा थारु, तामाङ, मगर, नेवा र शेर्पा समुदायका सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएका थिए।

