रवि लामिछानेकी पत्नी निकिता पौडेलको गृहमन्त्रीमाथि गम्भीर आरोप



काठमाडौं,साउन २८ — उपप्रधान एवं गृहमन्त्री रमेश लेखकमाथि पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै अदालतको आदेशलाई रोक्ने, न्यायिक परिषद्मा उजुरी गराउने र न्यायाधीशलाई धम्क्याउने कार्य गृहमन्त्रीको निर्देशनमा भइरहेको दाबी गरेकी छन्।

पौडेलले अदालतमा मुद्दाको पेशी चढेपछि मन्त्रालयकै कार्यकक्षमा उजुरीको मस्यौदा तयार हुने र त्यसको लिङ्क गृहमन्त्रीको सचिवालयमार्फत सम्बन्धित व्यक्तिहरूलाई पठाइने आरोप लगाइन्। उनले यसरी न्यायालयलाई धम्क्याउने र दबाब दिने प्रवृत्तिले स्वतन्त्र न्याय सम्पादनमा बाधा पुर्याएको बताइन्।

उनका अनुसार, श्रीमान रवि लामिछानेमाथि लागेका सबै मुद्दा गृहमन्त्री लेखकको कार्यकालपछि मात्र दर्ता भएका हुन् र कुनै पनि मुद्दा हदम्याद नाघेका छैनन्। उनले समान प्रकृतिका मुद्दामा सर्वोच्च अदालतले धरौटीमा छोड्ने आदेश दिएको नजिर भए पनि लामिछानेलाई निरन्तर थुनामा राखिएको आरोप लगाइन्।

पौडेलले न्यायाधीशहरूको सरुवा–बढुवामा हुने राजनीतिक दबाबको कारण स्वतन्त्र फैसला गर्ने वातावरण बिग्रिएको टिप्पणी गर्दै, “व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा को बस्न चाहन्छ?” भनी प्रश्न गरिन्।

उक्त स्टाटसमा उनले आफू उच्च अदालत बुटवल र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जाने घोषणा पनि गरेकी छन्। न्यायालयमा भइरहेको अस्वाभाविक गतिविधि र मिडिया ट्रायलका कारण निष्पक्ष फैसला आउन नसकेको भन्दै उनले न्याय पाउने आशा न्यून भए पनि लडाइँ जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्