नुवाकोटको ९७ प्रतिशत खेतमा बर्खे धान रोपियो



नुवाकोट,साउन २८ । पहाडी संरचना रहेको नुवाकोटको ९७ प्रतिशत खेतमा धान रोपाई गरिएको छ । विदुरका केही टारी खेतहरूमा धान रोप्न बाँकी रहेको छ । समयमै मनसुन भएका कारण यस वर्ष नुवाकोटमा धान रोपाई कार्य सकिएको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा साउनको तेस्रो सातासम्म धान रोपाई हुने गरेको छ ।

गत वर्ष भन्दा धेरै क्षेत्रफलमा बर्खे धान रोपिएको छ । आकाशे पानीको भर पर्नु पर्ने तीन प्रतिशत स्थानमा भने धान रोप्न बाँकी रहेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

१२ स्थानीय तह  रहेको नुवाकोटमा मङ्गलवारसम्म कुल ९७ प्रतिशत खेतमा धान रोपाई गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख केशव खनालका अनुसार नुवाकोटमा कुल १७ हजार नौ सय चार हेक्टर जमिनमा बर्खे धानको खेती हुने गरेकोमा ९७ प्रतिशत खेतमा धान रोपिएको छ । नुवाकोटमा धान खेतीका लागि वर्षा भइरहेकाले टारी खेतमा मात्र धान रोप्न बाँकी रहेको खनालको भनाई छ । गत वर्ष ९६ प्रतिशत खेतमा धान रोपिएको थियो ।

हालसम्म बर्खे धान रोपिने सबै खेतमा धान रोपाई सम्पन्न भएको कार्यालयका सूचना अधिकारी तथा वाली संरक्षण अधिकृत प्रवेश आचार्यले जानकारी दिए । सिँचाइ तथा पानीको उपलब्धता भएका खेतहरूमा धान रोपिइसकिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नुवाकोटमा रोपाई अन्तिम भएको र आकासे पानीको भर हुने केही टारी खेतहरूमा रोपाई गर्न बाँकी रहेको छ । यस वर्ष समयमै मनसुन भएको र यसको अवधि लामो रहेका कारण धान खेती गर्ने किसानहरूलाई समस्या नपरेको कृषि विकास कार्यालयका प्रमुख केशव खनालको भनाई छ ।

धानको लागि आवश्यक पानी बर्सात मार्फत पर्याप्त भएको र उपकरणको पनि अभाव नभएको कारण यस वर्षको वर्षे धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । सर्वसाधारण गाउँघरमै रहेका कारण खेतीपातीमा गत वर्षको भन्दा यस वर्ष बढोत्तरी भएको छ ।

हाल खेतमा रोपिएका धान मौलाउने समय भएकोले विभिन्न किसिमका रोग किराले समस्या हुने गरेकोले कृषकहरूलाई सचेत हुन कार्यालयले आग्रह गरेको छ । विशेष गरी नुवाकोटको म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाको माथिल्लो भेगहरूमा स्थानीय जातको धान खेती गरिने भए पनि अन्य स्थानमा बढी मात्रामा हाइब्रिड तथा उन्नत जातको धान खेती गर्ने गरिएको छ ।

किसानहरूले परम्परागतको तुलनामा हाइब्रिड जातको धान धेरै रोप्ने गरेका छन् । ८० प्रतिशत स्थानमा हाइब्रिड जातको धान रोपिएको कार्यालयले जनाएको छ । किसानहरूले खुमलका विभिन्न सिरिजका साथै सावित्री, राम धान जातका धानसमेत रोपेका छन् । धान बालीको लागि आवश्यक पानी यस वर्ष समयमै बर्सात भएकाले जिल्लाको अधिकांश जमिनमा धान रोपाई सकिएको कृषि विकास कार्यालयका सूचना अधिकारी तथा वाली संरक्षण अधिकृत प्रवेश आचार्यले जानकारी दिए ।

अधिकृत आचार्यका अनुसार समयमै वर्षा भएकाले यस वर्ष धान उत्पादनसमेत वृद्धि हुने अपेक्षा कार्यालयले गरेको छ । अहिले धानको वोट फस्टाउने समय भएकोले विभिन्न किसिमका रोग किराले समस्या हुने गरेकोले कृषकहरूलाई सचेत हुनसमेत कृषि विकास कार्यालयले किसानहरूमा आग्रह गरेको छ ।

नुवाकोटमा गत वर्षको तुलनामा यस वर्ष धेरै क्षेत्रफलमा धान रोपाई गरिएको कार्यालयले जनाएको छ । किसानहरूले नुवाकोटमा भात खानका लागि हाइब्रिड तथा चिउराका लागि टाई चिन जातको धान खेती गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्