प्रधानमन्त्री ओलीको घोषणा: २०८४ सम्म यही राजनीतिक गठबन्धन अघि बढ्छ
काठमाडौं,साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताए ।
प्रधानमन्त्री ओलीले संसद्, सरकार, न्यायालय लगायतका लोकतान्त्रिक प्रणालीका सबैजसो अङ्गहरूलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सरकारले के ग¥यो भनी उठाइएको गलत बहसले देशको समृद्धि, देशमा केही गरौँ भन्ने युवाहरूलाई भरोसा दिलाउन नभई समाजलाई उत्तेजनामा ल्याउने नियतका साथ आइरहेको बताए ।
प्रधानमन्त्री ओलीले सहकारीमा भएको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको र पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध’ भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको पनि बताए ।
प्रधानमन्त्री ओलीले बैठकमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनबारे प्रतिनिधिसभालाई जानकारी गराए ।
प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन, एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेको जानकारी गराए ।

