इजरेयलले गाजामा गरेको पछिल्लो आक्रमणमा १२३ जनाको मृत्यु, ४३७ जना घाइते



गाजा,साउन २९ । इजरेयलले गाजा कब्जा गर्ने नीति अन्तर्गत आक्रमण तीव्र बनाउने क्रममा गाजा सिटीमा गरेको पछिल्लो एक दिनको आक्रमणमा १२३ जनाको मृत्यु भएको छ भने ४३७ जना घाइते भएका छन् ।

इजरायली ट्यांक र युद्ध विमान परिचालन गरी गाजाका जैतुन र शेजाइया क्षेत्रलाई लक्षित गर्दै आवासीय घरहरू ध्वस्त पारिएका छन् । त्यसैगरी इजरेयलले खाद्यान्न रोक्दा गाजामा ३ बालबालिकासहित ८ जनाको भोकमरी र कुपोषणका कारण मृत्यु भएको छ ।

प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजाका नागरिकहरूलाई स्वेच्छाले बाहिर जान आग्रह गरेका छन् । नेतान्याहुको यस्तो भनाइको अन्तर्राष्ट्रिय समुदायले आलोचना भैरहेको छ । २४ देशका विदेशमन्त्रीहरूले इजरायललाई गाजामा निर्बाध रुपमा राहत आपूर्ति गर्न आग्रह गरेका छन् ।

यसैबीच हमासका नेताहरूले इजिप्टमा मध्यस्थकर्तासँग वार्ता गर्दै युद्ध अन्त्य, राहत आपूर्ति, र नागरिक पीडाबारे छलफल गरेका छन् । स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछोड्ने अडान हमासले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्