नुवाकोट लिखु प्याब्सनले बुझायो निजी विद्यालयको राष्ट्रियकरणको विरोधमा ज्ञापनपत्र
नुवाकोट,साउन २९— नेपाल निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले निजी विद्यालयहरुको राष्ट्रियकरण गर्ने प्रयत्नको विरोध गर्दै लिखु गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। बिहीबार लिखु गाउँपालिका प्याब्सनका फोकल पर्सन दीपक श्रेष्ठको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा “विद्यालय शिक्षा सम्बन्धी कानुनको समायोजन र फेरबदल गर्न बनेको विधेयक–२०८०” मा समावेश केही प्रावधानप्रति आपत्ति जनाइएको हो।
ज्ञापनपत्रमा निजी विद्यालयलाई समुदायमा रुपान्तरण गर्ने, पूर्ण शुल्कमुक्त शिक्षा लागू गर्ने, पाठ्यपुस्तक, पोषण, यातायात लगायतका सुविधा राज्यले उपलब्ध गराउनेजस्ता व्यवस्था अव्यवहारिक र अन्यायपूर्ण रहेको दाबी गरिएको छ। निजी विद्यालयहरुले देशको शिक्षा क्षेत्रमा चार दशकदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आएको, कुल विद्यार्थीको १३ प्रतिशतलाई गुणस्तरीय शिक्षा दिइरहेको र कुल ग्राहस्थ उत्पादन (GDP) मा करिब ७ प्रतिशत योगदान रहेको तथ्यसमेत उल्लेख गरिएको छ।
प्याब्सनले हालसम्म निजी विद्यालयहरुले कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई मासिक, वार्षिक तथा ट्युशन शुल्कमा छात्रवृत्ति दिँदै आएको स्मरण गराउँदै, प्रस्तावित विधेयकले यस प्रचलनलाई तोडेर पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने र निजी विद्यालयलाई गैर–नाफामूलक बनाउन बाध्य पार्ने प्रयास भएको आरोप लगाएको छ।
ज्ञापनपत्रमा सरकारको यस्तो नीति लागू भएमा निजी विद्यालयको अस्तित्व संकटमा पर्ने, रोजगारी गुम्ने, लगानीकर्ताको सुरक्षामा खतरा हुने र शिक्षाको गुणस्तर खस्किने चेतावनी दिइएको छ। साथै, तत्काल सच्याउनुपर्ने मागहरुमा निजी विद्यालयलाई गैर–नाफामूलक बनाउने बाध्यता हटाउने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउने, हालको १०% छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिने र शुल्क सम्बन्धी विद्यमान संरचना कायम राख्ने माग समावेश छन्।
प्याब्सनले सरकारलाई राष्ट्रियकरणको व्यवस्था हटाउन र विद्यालय शुल्क सम्बन्धी कानुन निर्माण गर्दा निजी विद्यालयको भविष्य सुरक्षित गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।लिखु गाउँपालिकामा हाल ६ वटा निजि विद्यालय सञ्चालनमा रहेको सेई अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन खतिवडाले जानकारी दिए।

