सप्तरीमा सय किलो गाँजा फेला
सप्तरी,साउन ३० — प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा १०० किलो गाँजा फेला पारेको छ। जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा, हरियो प्लास्टिकले बेरेको अवस्थामा, पाँच पोकामा २०–२० केजी गरी कुल १०० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
गाँजा बरामद गर्ने कार्य प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा पाँच जना तथा सशस्त्र प्रहरी बेस पातोबाट प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीको कमाण्डमा सात जनाको संयुक्त टोलीले गरेको हो। बरामद गाँजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि गत शुक्रबार पनि जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा १७ बोरामा रहेको ३९६ किलो गाँजा बरामद गरेको थियो।

